‘ए मेरो हजुर ३’ बम्पर ओपनिङ, यस्तो छ पहिलो दिने बिजनेस

हिट सिरिज ‘ए मेरो हजुर’को तेश्रो सिक्वेलले बम्पर ओपनिङ गरेको छ । नयाँ बर्ष २०७६ को छेकोमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिल दिन आक्रामक सुरुवात गर्यो । बिहानी शो बाट नै देशैभरका सिङगल स्कृन र मल्टिप्लेक्समा दर्शकको चाप बढ्दा दिनैभर प्रायः शोजहरु हाउसफुल बने ।

मल्टिप्लेक्सको क्यूएफएक्स चेन अन्तर्गत सिभिल मल, कुमारी हल, लाबिङ मल, छायाँ सेन्टर ठमेल लगायत सबैजसो हलमा फिल्मले पहिलो दिन बिहानी शोजमै ८० प्रतिशत माथीको अकुपेन्सी कायम गर्न सफल रह्यो भने दिवा शोजदेखी रात्रीकालिन शोजहरु लगातार हाउसफूल रहे । उता गोपिकृष्ण मुभिज, अष्टनारायण हल, गंगा हल बालाजु, गुण सिनेमाज लगायतका राजधानीका सबैजसो हलमा दिवा शो देखी साँझ सम्म नै पर्दाहरु हाउसफूल रहे ।

गोपिकृष्ण हलका चार पर्दा दिनभर हाउसफूल रहे । मोफसलमा पनि फिल्मको बिजनेस लोभलाग्दो छ । यो ओपनिङ बर्ष २०७५ भरीकै ठुलो हो । यसअघि फागुन १७ मा रिलिज अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को कमजोर ओपनिङमा उनको स्टारडममा उठेको प्रश्नलाई यो फिल्मले केहि हदसम्म जवाफ फर्काएको छ । ‘ए मेरो हजुर ३’मा अनमोलसँगै निर्देशक झरना थापाकी छोरी सुहाना थापाले लिड रोल निभाएका छन् । सुहानाको लागी यो डेब्यू फिल्म हो ।

फिल्ममा जोडिएका केहि संवादमा भने दर्शकले आपत्ति जनाएका छन् । केहि छाडा र भद्दा लाग्ने संवाद र सोहि संवादसँग जोडिएका दृश्यहरुमा दर्शकले प्रश्न समेत तेर्साएका छन् । समिक्षकबाट फिल्मले औसत साथ पाएको छ । ‘वर्ड अफ माउथ’ मिश्रित आउँदा पनि फिल्मले नयाँ बर्षको पहिलो दिन सम्म आक्रामक बिजनेस गर्नेमा दुई मत छैन ।

सुनिलकुमार थापाको निर्माणमा बनेको फिल्मको आधिकारिक बिजनेस रिपोर्ट प्राप्त छैन । यद्धपी पहिलो दिन नै यो फिल्मले नेपाली बक्सअफिसमा १ करोड माथीको ग्रस कलेक्सन गरिसकेको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाल, रविन्द्र झा, रक्षा गौतम, रेअर राई लगायत अभिनयमा छन् ।

निर्देशक झरना र सुमन पौडेलको कथामा बनेको फिल्ममा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको स्कृनप्ले तथा संवाद समावेश छ । दिर्घ खड्काले फिल्मलाई सम्पादन गरेका हुन् भने छायाँकन सञ्जय लामा, सुदिप बराल र सम्भु मोक्तानको छ ।

Loading...
Comments