वाह अनमोल, पाए हाई हाई, नपाए बाई !

नेपालमा स्टारडम बोकेको कोहि हिरो छ भने निसन्देह नाम आउँछ अनमोल केसी । नामले दर्शक हलमा तान्ने क्षमता बोकेका यी अभिनेता प्रायः गुमनाम हुन्छन् । फ्यान र मिडियाबाट टाढा हुन्छन् । डेब्यू फिल्मदेखि नै क्रेजलाई सस्तो बन्न नदिएका अनमोललाई हतपत भेट्न मुश्किल पर्छ ।

अनमोललाई बारम्बार लाग्ने आरोप अभिनय कलाको हो । उनले हालसम्म पनि अभिनय भन्दा ‘लुक्स’ले स्टारडम बढाए भन्ने आरोप खेप्छन्, पछिल्ला फिल्ममा केहि सुधार पनि गर्दै लगेका छन् । तर यतिबेला अनमोल अवार्डमुखी बनेको अर्को आरोप सुरु भएको छ । नहोस् पनि कसरी पाउने ‘कन्फर्म’ भएपछि जहिँ पुग्दिन्छन्, अवार्ड चुमेका गर्विला तश्विर पोष्ट गर्छन् ।

हुन त अनमोलको पुरानै सिद्धान्त हो, पाउने भएपछि मात्रै अवार्ड समारोहमा पुग्ने, नत्र खुट्टै ढोग्छु भन्दा पनि ‘बाल’ नदिने । यदाकदा सुनिन्छ, अवार्डको निम्तो आउनासाथ अनमोल पीता भुवन केसीले अनमोलले पाउँदै गरेको या नाइँ सोध्छन् अनि त्यहि अनुसार उपस्थितीको निर्णय दिन्छन् ।

उल्लेखित कुराका प्रमाण भनेका बर्षेनी हुँदै आएका र मौसमी रुपमा देश या विदेशमा हुने नेपाली फिल्म अवार्डहरु नै हुन् । जहाँ अनमोल हालसम्म आफुले पाउने पक्का भएका कार्यक्रममा मात्रै उपस्थित भएको रेकर्ड छ । कामना अवार्ड होस् या अमेरिकामा हुने ग्लोबल अवार्ड, एनएफडिसी अवार्ड होस् या हालै जापानमा सम्पन्न सुर्य अवार्ड, पाउने पक्कापक्की भएपछि मात्रै उनि पुगे अवार्ड चुमेर सामाजिक सञ्जालमा तश्विर पोष्ट गरे । आजकल त कुनै पनि नेपाली अवार्ड समारोहमा अनमोल पुगेपछि उनले पाउने निश्चित प्रायः हुँदा अन्य अभिनेताको मुख खुम्चिईसकेको हुन्छ ।

पहिलो संस्करणको कामना अवार्डमा अवार्ड पाउने पक्का भएपछि पुगेका उनि त्यसपछिको संस्करणमा पुगेनन्, एनएफडिसीले बर्षेनी अवार्ड गर्छ तर उनि गत बर्षको कार्यक्रममा मात्रै पाउने भएपछि पुगे । बर्षा बाधक बनेको अवार्ड वितरण समारोह होटलको बारमै हुँदा पनि रक्सीको प्याक वितरण भइरहेको बारकै अगाडी उनले अवार्ड थापे । हरेकबर्ष हुने ‘डि सिने अवार्ड’मा पनि उनि कहिल्यै पुग्दैन्थे, गत बर्ष ‘कृ’ बाट पाउने पक्का भएपछि पुगे, अवार्ड लिएरै फर्के । तर त्यसयताका या त्यो पहिले सम्पन्न उनले नपाउने पक्का भएका धेरै अवार्ड समारोहमा उनि पुग्दै पुगेनन् ।

गत बर्ष पनि उनले जापानमा सम्पन्न ‘सुर्य इन्टरनेशनल अवार्ड’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका अनमोललाई यो पटक आयोजकले पपुलर अभिनेताको अवार्ड थमायो । यो पटक पनि उनले केहि न केहि पाउने पक्कापक्की थियो, किनकी अनमोलको ‘अपकमिङ’ फिल्मको विदेश प्रदर्शन अधिकार आयोजक संस्था सुर्य कर्पोरेसनले किनिसकेको थियो । त्यसैले त उनि काठमाडौंबाटै अवार्ड पाएपछिको ‘क्याप्सन’ सोच्दै जापान उडे ।

माथीका सबै उदाहरणहरुले अनमोलको अवार्ड मोह प्रष्ट पार्छ । जस्तोसुकै र जो सुकै आयोजक बनेपनि अवार्ड भनेको कामको मुल्याङ्कन गर्ने, प्रोत्साहन दिने उर्जा थप्ने सम्मान हो । त्यसैले कमी कमजोरी निखार्दै कामलाई थप प्रमाणित गर्न अवार्डले प्रोत्साहित गर्छ ।

अभिनयमा उठ्दै आएको प्रश्नलाई चिर्नतिर नलागेर दिनहुँ मुल्य गुमाउँदै गइरहेका अवार्ड थाप्दैमा चित्त बुझाउने हो त ? अनमोललाई प्रश्न छ । अनि नेपालमा हुने सबै प्रकारका अवार्डले विकृत र किनबेचको आरोप खेपिरहँदा अवार्डको अस्थित्व स्विकार गर्ने नै हो र थाप्दै जाने नै हो भने पाउँदा नपाउँदाका सबै कार्यक्रमलाई समान रुपमा पनि त लिनुपर्ने होला ? कि अवार्ड पाए हाई हाई, नपाए बाई बाई हो अनमोल जी !

तश्विरः गूगल

Loading...
Comments