काठमाडौं। आगामी कार्तिक ६ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक टिजरले लोकप्रियता कमाउँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश ‘थाक खोला’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो ।
कालीप्रसाद बास्कोटाको स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ । गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजको रहेको छ । त्यस्तै गीतको सारंगीमा हेमन्त कान्छा रसाइली र बेश गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुनासँगै सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, पुश्कर गुरुङ, माओत्से गुरुङ, कमलमणी नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल लगायत प्रमुख अभिनयमा छन् ।
रामबाबुसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेको फिल्ममा सञ्जय लामाको सिनेमाटोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन छ । बैङ्कटेस इन्टरटेन्मेन्ट र द ट्रि फोल्क्सले यो फिल्मलाई वितरण तथा प्रदर्शन गर्दैछन्।