आइतवार, कार्तिक २ गते २०८३
images
images

'आ बाट आमा २' सुखद ओपनिङ, यस्तो छ पहिलो दिनको कलेक्सन

शुक्रवार , आश्विन ३०, २०८३

काठमाडौं। दशैंको अबसरमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'आ बाट आमा २'ले राम्रो सुरूवात गरेको छ । समाचार तयार पार्दा सम्म फिल्मले देशभरका हलहरूमा ३४ लाख आसपासको विजनेस गरेको छ ।

देशभरका डेढ सयबढि हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले ३० लाख बढि कमाइ गर्नु नै यो वर्षको लागि पहिलो दिनको विजनेसमा सुखद ओपनिङ हो । बिहानी सत्रमा प्राविधिक समस्याकाबीच हलहरूमा फिल्मको पहिलो शोज कहि स्थगीत भयो भने कहिँ निर्धारित समयभन्दा ढिला सुरू भएको थियो ।

श्रोतका अनुसार यो फिल्मले पहिलो दिन राती ९ बजेसम्म ३३ लाख माथिको ग्रस विजनेस गरिसकेको छ । वर्ष २०८३ मा ओपनिङ डे ३० लाख माथि कुनै पनि फिल्मको कलेक्सनको आधिकारिक रिपोर्ट सार्वजनिक छैन । समाचार तयार गर्दा सम्म ९ बजेपछि पनि विभिन्न हलमा झण्डै आधा दर्जन शोजहरू सुरू हुन बाँकी थिए । बक्सअफिस सिस्टममा नजोडिएका केहि हलरूको कलेक्सन समेत वितरकबाट उपलब्ध हुँदा फिल्मको विजनेस ३४ लाख आसपास हुने देखिन्छ ।

 'म्यासिभ फ्यान फ्लोइङ' रहेका अभिनेता पल शाह स्टारर फिल्मप्रति पहिलो दिन दर्शक उत्साहित देखिएका छन् । अर्का अभिनेता आकाश श्रेष्ठलाई हेर्न मात्रै पनि फिल्म हेर्न आएको हलमा भेटिएका केहि दर्शकले बताए ।

शुक्रबारको विजनेस समिक्षा गर्दा शनिबार परेको फुलपाती र त्यसपछिका दिनमा फिल्मले थप उत्साहप्रद विजनेस गर्ने देखिन्छ । 'आ बाट आमा'ले बक्सअफिसमा १३ करोडमाथिको विजनेस गरेको थियो । उक्त फिल्मको सिक्वेलले गर्नसक्ने विजनेसलाई लिएर फिल्म पण्डितहरू समेत यतिबेला अड्कलबाजीमा देखिएका छन् ।

फिल्मको प्रमुख अभिनेता पल शाह, त्यो सँगै नेपाली म्युजिक भिडियो क्षेत्रमा सर्वाधिक रुचाइएका र रेकर्डतोड भ्यूज बटुल्न सफल भिडियोहरूका जोडी पल र मलिका महतलाई दर्शकले फिल्मको प्रमुख आकर्षण बोलेका छन् । 'पिएम' जोडीको उपमा पाएको यो जोडीको नाममा सामाजिक सञ्जालमा दर्जनौं पेज तथा ग्रूपहरू समेत वर्षौदेखि सकृय छन् । त्यसको लाभ समेत 'आ बाट आमा २'ले उठाएको छ ।

यो फिल्मले हेरुन्जेल दर्शक रुवाउने भनेर 'रुवाउने फिल्म'को ट्याग समेत पाएको छ । सामाजिक सञ्जालमा फिल्मलाई केन्द्रीय जाँच समिति सेन्सर बोर्डले धेरै 'इमोसनल' भएकै कारण 'पिजी सर्टिफिकेट'दिएको भन्दै ट्रोल तथा आलोचना समेत भइरहेको छ। नेपाली फिल्ममा कमेडीसँगै 'इमोसनल' कन्टेन्ट बोकेका फिल्महरू नै सर्वाधिक विजनेस गर्ने सुचीमा अग्र स्थानमा रहँदा त्यसको प्रभाव यो फिल्ममा समेत पर्ने संकेत देखिएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको 'आ बाट आमा २'मा पल, मलिका र आकाश श्रेष्ठसँगै सामाजिक सञ्जालमा लोकप्रिय कथाबाचक साइग्रेस पोखरेल, विपना थापा, सविन श्रेष्ठ, नरेन खड्का, निकिता आचार्यसँगै दिवंगत वलिउड अभिनेता प्रदीप रावत लगायत प्रमुख अभिनयमा छन् ।