काठमाडौं। हिन्दु नेपालीहरूको महान पर्व दशैंको अबसरमा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म 'आ बाट आमा २'मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । निर्माण कम्पनि आर्या इन्टरटेनमेन्टले फिल्ममा समावेश गीत मंगलबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक 'अचेल किन कान्छी' बोलको गीतमा संगीतकार बाबुल गिरीले आफ्नै शब्दमा संगीत भरेका छन् भने मिक्सिङ र एरेञ्ज पनि गिरीको नै छ । रवि ओड र गंगा सोनमले स्वर दिएको गीतका शब्दले प्रेम भाव झल्काउँछन् । निर्माण टिमले रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई गति दिने उद्देश्यले गीत सार्वजनिक गरेको बताएको छ ।
गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री मलिका महत फिचर्ड छन् । आकर्षक सेटअप र कोरियोग्राफीमा तयार गीतमा पल र मलिकाको नृत्यको बीच अभिनेता आकाश श्रेष्ठ समेत भावुक मुद्रामा देखिन्छन् ।
आकाशको उपस्थितिलाई निर्माण टिमले सरप्राइज छोडेको छ। हालसम्म फिल्ममा उनको भुमिका के छ खुलाइएको छैन । गीतमा आकाशको उपस्थितिले पात्रहरूबीचको त्रिकोणात्मक द्वन्द्वको संभावनालाई बढावा दिएको छ । गम्भिर विष्टको निर्देशनमा भिडियो तयार भएको हो ।
चाडपर्वको समयमा पारिवारिक विछोडले पार्ने प्रभाव र आमा छोराबीचको प्रेमभाव फिल्मको मुख्य विष्यवस्तु हो । चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म यसैवर्ष रिलिज भएको सुपरहिट फिल्म 'आ बाट आमा'को सिक्वेल हो ।
पहिलो संस्करणले १३ करोड माथिको विजनेस गर्दा सिक्वेलप्रति सुरूमै दर्शक आकर्षण देखिएको छ । गत हप्ता मात्रै रिलिज भएको फिल्मको टिजरले प्राप्त गरेको झण्डै ५० लाख भ्यूज यसको संकेत हो ।
यो फिल्ममा निर्देशक पन्तको नै कथा रहँदा पटकथा र संवाद लेखनमा पन्तलाई रोशन भट्टले सघाएका छन् । फिल्ममा पल,मलिका र आकाशसँगै रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा प्रमुख अभिनयमा छन् ।
कार्यकारी निर्माता करण सिंह रहेको फिल्ममा नवराज उप्रेतीको छायाङ्कन छ भने बाबुल गिरीको संगीत रहँदा नृत्य निर्देशनमा गम्भीर विष्ट र सम्पादनको जिम्मेवारी साहिल खान र मिलन श्रेष्ठले सम्हालेका छन् । रोहित कट्टेल र रन्त श्रेष्ठको आर आर फिल्मस्'ले 'आ बाट आमा २'लाई देशब्यापी प्रदर्शन तथा वितरण गर्नेछ ।