काठमाडौं। वर्ष २०८३ को प्रतिक्षित फिल्म 'कबड्डी ५'को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो ।
सार्वजनिक झण्डै साढे ४ मिनेटको ट्रेलरमा पातर्हरूका विविध आयामहरूलाई चित्रण गरिएको छ । पाँचौ शृङ्खलासम्म आइपुग्दा अभिनेता दयाहाङ राईले निभाउँदै आएको काजी पात्रको जीवनमा आउने बलदाव र अभिनेता विपिन कार्कीको इन्ट्रिपछिको परिस्थिति ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा फिल्मका सबैजसो प्रमुख पात्र फिचर्ड छन् । अघिल्ला शृङ्खलाहरूमा मैयाँ पात्र निभाएका रिश्मा गुरुङ र मिरुना मगरसहित नयाँ 'मैयाँ' बनेकी सृजना गुरुङसँग दयाहाङको नोकझोक हेर्न लायक रहेको अपेक्षा निर्माण टिमको छ।
रामबाबु गुरुङ निर्देशित यो फिल्म दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् । यी कलाकारसहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।
यो फिल्मलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने डायस्पोरा वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ ।