काठमाडौं। निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ । प्रारम्भको तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो ।
काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस्तै सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।
यस चलचित्रको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायाकार कृष्ण बहादुर थापा छन् ।
गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले चलचित्र ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक हुने बताए । 'नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा चलचित्र बनेको छ,' उनले भने, 'यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर चलचित्र बनाएका छैनौँ, इमान्दार भएर यो चलचित्र बनाएका छौँ ।'
आम नेपालीको घरमा दिनदिनै घट्ने घटनाक्रममा सिनेमा बनेकाले दर्शकको रोजाइमा चलचित्र पर्ने उनको विश्वास छ । श्रीमान् र श्रीमतीको सम्बन्धका उतारचढाव सिनेमाको मुख्य कथा रहेको उनले प्रस्ट पारे । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।