काठमाडौं। गत असोज ३० बाट प्रदर्शनमा आएको फिल्म 'आ बाट आमा २'ले घरेलु बक्स अफिसमा डेढ करोड कलेक्सनको आँकडा पार गरेको छ । प्रदर्शनको चौथो दिनमा फिल्मले ४० लाख माथिको विजनेस गरेको छ ।
दशैंको अबसरमा प्रदर्शनमा आएको यो फिल्मले प्रदर्शनको पहिलो दिन ३५ लाखको ओपनिङ गरेको थियो । वर्ष २०८३ मा प्रदर्शनमा आएका कुनै पनि फिल्मले पहिलो दिन ३० लाख माथिको कलेक्सन नगरिरहेको परिवेशमा 'आ बाट आमा २'को उक्त कलेक्सनलाई फिल्म वृत्तले सुखद शब्द सहित स्वागत गरेको थियो ।
फिल्मले तीन दिनमा (आइतबारसम्म) १ करोड १२ लाख कलेक्सन गरेको रिपोर्ट फिल्मीनेपाललाई प्राप्त छ भने चौथो दिनको विजनेस राती ९:२५ बजेसम्म चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीमा यो फिल्मको कलेक्सन ४० लाख ३३ हजार ५ सय ६८ रुपैयाँ ७ पैसा उल्लेख छ ।
चलचित्र विकास बोर्डको आधिकारिक कलेक्सन रिपोर्ट १० औं दिनमा मात्र सार्वजनिक हुन्छ । यद्धपी फिल्मीनेपाललाई प्राप्त श्रोतका आधारमा फिल्मको चार दिनको कलेक्सन १ करोड ५२ लाख माथि छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको 'आ बाट आमा २'मा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, विपना थापा, सविन श्रेष्ठ, नरेन खड्का, निकिता आचार्यसँगै दिवंगत वलिउड अभिनेता प्रदीप रावत लगायत प्रमुख अभिनयमा छन् ।
पारिवारिक जनराको फिल्म हेरेर दर्शक 'इमोसनल' भइरहेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा 'आ बाट आमा २'ले रुवाउने फिल्मको ट्याग समेत पाएको छ । यो फिल्म गत वर्ष प्रदर्शनमा आएर १३ करोडमाथि विजनेस गरेको 'आ बाट आमा'को सिक्वेल हो ।
'आ बाट आमा २'सँगै प्रदर्शनमा आएको फिल्म '१२ गाउँ २' र शनिबारबाट प्रदर्शनमा आएको अर्को फिल्म 'छ माया छपक्कै २' पनि यतिबेला हलमा प्रदर्शनरत छन् । सम्बन्धित फिल्मका वितरकसँग सम्पर्क गर्दा मंगलबार दिउँसोसम्म वक्सअफिस रिपोर्ट उपलब्ध हुने बताएका छन् ।