शुक्रवार, आश्विन १६ गते २०८३
images
images

'पेन्सन पट्टा' कलेक्सन ७ करोडमाथि, ३ करोड नजिक 'बेहुली'

बोर्डले आइतबार मध्यरातसम्मको कलेक्सन सार्वजनिक गर्दा माओत्से गुरुङ निर्देशित फिल्मले हालसम्म ७ करोड १ लाख ४१ हजार ४ सय ३ रुपैयाँ ७६ पैसा ग्रस छ ।

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । गत भदौ २६ गतेबाट तीजको अबसरमा प्रदर्शनमा आएको फिल्म 'पेन्सन पट्टा'ले घरेलु बक्सअफिसमा कमालको विजनेस गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा यो फिल्मको कलेक्सन ७ करोड माथि छ ।

box office ashoj 12.jpg

बोर्डले आइतबार मध्यरातसम्मको कलेक्सन सार्वजनिक गर्दा माओत्से गुरुङ निर्देशित फिल्मको हालसम्म ७ करोड १ लाख ४१ हजार ४ सय ३ रुपैयाँ ७६ पैसा ग्रस छ । दयाहाङ राई स्टारर फिल्मलाई दर्शकले राम्रो साथ दिँदा यो फिल्म थप अघि बढ्ने संकेत तेस्रो साताको विजनेसले गरेको छ । 

देशभर परेको अविरल वर्षामा समेत फिल्मले दैनिक ३० लाख माथिको कलेक्सन गरेको विवरण वितरक रोहित कट्टेलले उपलब्ध गराएका थिए । यो फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

यस्तै भदौ २६ मै रिलिज भएको फिल्म 'बेहुली'लाई भने 'पेन्सन पट्टा'को तुलनामा आधा विजनेस सम्म गर्न सकेको छैन । सामाजिक सञ्जालको चर्चा परिचर्चाबीच फिल्मले आइतबारसम्म जम्मा २ करोड ९६ लाखको ग्रस कलेक्सन गरेको छ । यो फिल्मको लाइफटाम कलेक्सन समेत 'पेन्सन पट्टा'को आधासम्म नहुने देखिएको छ ।

जनैपूर्णिमाको अबसरमा प्रदर्शनमा आएको नीता ढुङ्गाना निर्देशित 'पार्वती'ले २ करोड २८ लाख ५५ हजारको ग्रस कलेक्सन गर्दा गत हप्ता प्रदर्शनमा आएको 'झिंगे दाउ २'ले १ करोड ३४ लाख ८३ हजार ग्रस कलेक्सन गरेको छ भने सोहि फिल्मसँग प्रतिस्पर्धामा आएका अन्य दुई फिल्म 'कार्की साइँला'ले जम्मा ५ लाख ७८ हजार र 'माया बस्छ कि के हो'ले २३ हजार ग्रस कलेक्सन गरेका छन् ।

'माया बस्छ कि के हो'को जम्मा ९२ टिकट बिक्री भएको विकास बोर्डको तथ्याङ्कले देखाउँछ । ब्लकवस्टर बनिसकेको फिल्म 'गौंथली' भने हालसम्म २५ करोड ९५ लाख ८४ हजार कलेक्सन गर्न सफल छ ।