काठमाडौं। यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म 'बाटुलो जून'को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले फिल्मको मुख्य प्रचार सामग्री ट्रेलर दर्शकमाझ ल्याएको हो।
ट्रेलरमार्फत निर्माण टिमले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशलाई प्रकाश पार्ने प्रयास गरेको छ । यो फिल्ममा सुपरस्टार ट्याग पाएका अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन् । शहरिया परिवेशमा हुर्केको बताउँदै अनमोलले फिल्मको दौरान नेपाली समाज, संस्कृति र ग्रामिण परिवेशलाई नजिकबाट बुझ्न पाएको बताए ।
ट्रेलरमा एकै कालखण्डको प्रेकथालाई दुई पुस्ताको माध्यमबाट देखाइएको छ । ४० वर्ष पहिलेको नेपाली समाजको परिस्थितिलाई चित्रण गरिएको फिल्ममा निर्देशक रहेका तत्कालिन स्टार भुवन केसी स्वयंम फिचर्ड छन्, उनको अपोजिटमा अभिनेत्री गरिमा पन्तलाई देख्न सकिन्छ ।
यस्तै तत्कालिन समयको प्रेमिल कथावस्तुलाई नयाँ पुस्तामा जोड्दै निर्देशक केसीले अनमोल केसी र प्रिन्सी खतिवडामार्फत देखाउने प्रयास गरेका छन् ।
ट्रेलरमा समावेश पात्र प्रस्तुति, पार्श्वध्वनी, छायांकन र सम्पादन पक्षले दर्शकबाट प्रशंसा पाएको छ । मिडिया र सामाजिक सञ्जालमा प्रशारित/प्रकाशित समिक्षाहरूमा 'बाटुलो जून'लाई प्रतिक्षित फिल्मको ट्याग दिइएको छ ।
सनराइज पिक्चर्स प्राली र भविष्य फिल्मस् को ब्यानरमा बनेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह- निर्माता हुन् ।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।