शनिवार, मंसिर १३ गते २०८३
images
images

प्रिन्सीको गृहनगरमा 'बाटुलो जून'लाई न्यानो स्वागत

बिहिवार , मंसिर ११, २०८३

काठमाडौं । अभिनेता अनमोल केसी पूर्वी नेपालका विभिन्न शहर पुगेर दर्शक, प्रशंसक तथा शुभचिन्तकसँग प्रत्यक्ष भेटघाट गरेका छन् । गत कात्तिक २६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘बाटुलो जून’को प्रचारप्रसार तथा दर्शक प्रतिक्रिया बुझ्न निर्माण टिम बुधबारदेखि पूर्वी नेपालका विभिन्न शहरको भ्रमणमा निस्किएको हो ।

अनमोलसँगै निर्देशक भुवन केसी, निर्माता जीया केसी र अभिनेत्री प्रिन्सी खतिवडा सहितको टिम पूर्वी नेपाल पुग्दा दर्शक तथा शुभचिन्तकहरूले न्यानो स्वागत गरे । बुधबार विराटनगर, इटहरी र धरानका हलमा पुगेको टोली बिहीबार झापाको दमक, बिर्तामोडलगायतका शहरमा पुग्दैछ । 

'बाटुलो जून' टिमसँगै अनमोल पूर्व आउँदै गरेको सुचना पाएका फ्यान तथा शुभचिन्तकहरू उनीसँग तस्बिर खिच्न, सेल्फी लिन तथा रिल्स र टिकटक बनाउन घण्टौँ प्रतीक्षा गरेर बसेका थिए । दिउँसोदेखि रातिसम्मै अनमोलले दर्शक र शुभचिन्तकसँग समय बिताए ।

पूर्वी नेपालबाट आफू र आफ्ना चलचित्रले सधैँ माया पाउँदै आएको उल्लेख गर्दै अनमोलले अबदेखि हरेक चलचित्र प्रदर्शनका क्रममा पूर्वी नेपाल आउन नछुटाउने बाचा गरे । निर्देशक समेत रहेका अभिनेता भुवन केसीले आफ्नो करियरको सुरूवाती समयबाटै पूर्वेली दर्शकबाट भरपूर प्रेम पाउँदै आएको स्मरण गर्दै त्यो प्रेमको निरन्तरताको अपेक्षा राखे ।

प्रदर्शनको दोस्रो हप्तामा रहेको ‘बाटुलो जून’ घरेलु बक्स अफिसमा १० करोड ग्रस कलेक्सन नजिक छ। चलचित्र विकास बोर्डले गत सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा चलचित्रले ८ करोड ३५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको उल्लेख थियो । 

नेपालसँगै विभिन्न देशमा प्रदर्शन भइरहेको चलचित्रले डायस्पोराका दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।
सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन तथा कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्रका छायाँकार राजेश श्रेष्ठ हुन् । 

२०३०–४० को दशकको नेपाली समाज र जनजीवनलाई चित्रण गरिएको चलचित्रमा अनमोल विगतका चलचित्रभन्दा फरक अवतारमा प्रस्तुत भएका छन् । पहिलो चलचित्रबाटै अभिनेत्री प्रिन्सी खतिवडाले आफ्नो अभिनयका लागि प्रशंसा बटुल्दै नेपाली चलचित्रको सम्भावनाशील अभिनेत्रीका रूपमा चित्रित गराएकी छन् ।