काठमाडौं। प्रदर्शन नजिकिँदै गर्दा चलचित्र 'आ बाट आमा २' टिमले प्रचार प्रसारलाई तीब्र बनाइरहेको छ । देशव्यापी प्रचारमा जुटेको निर्माण टिमले कलाकारसहित बुटवलमा कन्सर्ट गर्दा हजारौँ दर्शक उपस्थित भएका छन्।
शुक्रबार साँझ गोलपार्कमा सम्पन्न कन्सर्टमा चलचित्रका कलाकारहरू उपस्थित हुँदा हजारौँ दर्शकले स्वागत गरे । कलाकारहरू विपना थापा, पल शाह, मलिका महत, आकाश श्रेष्ठ, निकिता आचार्य र रिस्ता गुरुङसहितको टिम मोफसल प्रचारलाई बुटवल पुगेको हो।
उक्त कन्सर्टमा गायक बाबुल गिरी र गायिका गंगा सोनामले फिल्मकै गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। निर्देशक चन्द्र पन्तले दर्शकको साथले उत्साह बढाएको बताए।
चलचित्र युनिट अन्य शहरहरूमा समेत सिधा दर्शकसँग पुग्नेगरि भेटघाट र प्रचारमा जुट्ने बताइएको छ । यसअघि सार्वजनिक टिजर र गीतलाई सामाजिक सञ्जालमा राम्रो साथ मिल्दा 'आ बाट आमा'को विजनेस रेकर्डलाई ब्रेक गर्नेगरि निर्माण टिम सिक्वेलको प्रचारमा जुटेको हो । उक्त चलचित्रले १३ करोडमाथि कलेक्सन गरेको थियो ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको चलचित्र दशैंको अबसरमा असोज ३० बाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।