काठमाडौं। सामाजिक कथामा व्याङ्ग्यात्मक प्रस्तुति बोकेको फिल्म ‘चमेलीको पोइ’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात, पारिवारिक सम्बन्ध तथा हाँस्यलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। १८ वर्षपछि पर्दामा ‘प्रेमचरो’ ‘चमेलीको पोइ’ निर्माण टिमले प्रमुख आकर्षण भनेर चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’लाई अघि सारेको छ। करिब १८ वर्षपछि उनी यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेका छन्। कुनै समय ‘प्रेमचरो’ नामबाट दर्शकमाझ लोकप्रिय त्रिपाठी लामो समय अमेरिकामा रहेपछि पुनः नेपाली फिल्ममा फर्किएका हुन्। त्रिपाठीले अमेरिकामा रहँदा पनि फिल्ममा फर्किने इच्छा रहेको र यही फिल्ममार्फत पुनः दर्शकमाझ आउन पाउँदा खुसी लागेको बताएका छन्। उनका अनुसार अमेरिकामा भएका विशेष प्रदर्शनबाट प्राप्त दर्शक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको छ।
अमेरिकामा दर्शकको माया: नेपालमा प्रदर्शन हुनुअघि नै अमेरिकाका विभिन्न स्टेटमा ‘चमेलीको पोइ’को विशेष प्रदर्शन भएका थिए। विशेष प्रदर्शनमा सहभागी दर्शकले फिल्म मन पराएको र हाँस्य तथा मनोरञ्जनप्रधान प्रस्तुतिको प्रशंसा गरेको निर्माण पक्षले जनाएको छ। अमेरिकामा रहेका नेपाली दर्शकमाझ गरिएको प्रदर्शनले फिल्मप्रति अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा बजारमा समेत चासो देखाएको छ।
सुरक्षा–मुकुनको साथमा हाँस्य कलाकारको ठूलो जमघट
फिल्ममा नारायण त्रिपाठीको साथमा प्रमुख अभिनयमा सुरक्षा पन्त, मुकुन भुसाल छन्। सँगै विल्सनविक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, खड्कबहादुर पुनलगायत कलाकारको अभिनय छ। सुरक्षाले निर्देशक बोहरासँग यसअघि ‘भैरे’मा काम गरेकी थिइन्। ‘चमेलीको पोइ’मा आफूले चाहेजस्तो कथा, परिवेश र चरित्रमा काम गर्न पाएकोमा उनले खुशी व्यक्त गरेकी छन्।
निर्माणमा अनुभवी टिम यसअघि ‘अग्नी परीक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’,‘‘हेलो जिन्दगी’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका अनुभवी निर्देशक बोहराको यो फिल्म धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्।
निर्देशक बोहरालाई लेखनमा शिवम अधिकारीले साथ दिएका छन्। शेरबहादुर तामाङको छायांकन, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गरेको छ। निर्माण टिमले आफ्नो फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास लिएको छ ।