काठमाडौं। निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन गुपचुप रूपमा अघि बढाइरहेका छन् । कुनै औपचारिक घोषणा नगरी सुरु गरिएको यो चलचित्र अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएका छन् । पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा बन्न लागेको ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा आधारित चलचित्र रहेको उनले बताए ।
यो चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छन् । गम्भीर तथा सामाजिक विषयलाई कथाको केन्द्रमा राखेर चलचित्र बनाउने निर्देशकका रूपमा परिचित खनालले भने यसपटक पूर्ण पारिवारिक कथामा काम गरेका छन् । उनका अनुसार चलचित्रमा दर्शकले आफूलाई जोड्न सक्ने मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
“दर्शकले मन पराउने मिठो कथामा चलचित्र बन्दैछ, आशा छ, दर्शकले मन पराउनु हुनेछ,” निर्देशक खनालले भने, “हामीले इमान्दार भएर चलचित्र बनाउने हो पक्कै पनि इमान्दार बनेर बनाइएको चलचित्र दर्शकको रोजाइमा पर्छ ।”
निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । छायांकन सकिएपछि पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ । ‘धनपति’ र ‘क्याप्टेन साब’पछि निर्देशक खनालसँग कलाकारद्वय लामिछाने र पन्तको यो तेस्रो सहकार्य हो ।