काठमाडौं । यहि भदौ १९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको जनधनको क्षति र विषम परिस्थितिलाई ध्यानमा राख्दै निर्माण पक्ष (आर्टिस्टिक इन्टरटेन्मेन्ट) ले प्रदर्शन रोक्ने निर्णय गरेको हो ।


देश शोकमा परेका बेला पारिवारिक तथा सामाजिक कथामा बनेको चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको जनाउँदै नयाँ प्रदर्शन मिति आगामी मङ्सिर २४ गतेका लागि तोकिएको छ ।
साथै, विपद्को यस घडीमा ‘बा : एक योद्धा’ निर्माण टोलीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख १ हजार सहयोग जम्मा गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ । निर्माण पक्षले सम्पूर्ण नेपालीहरूलाई राहत तथा उद्धार कार्यमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गर्दै प्रदर्शन सर्न जाँदा पर्न गएको असुविधाप्रति दर्शकलगायत सम्बन्धित सबैसमक्ष क्षमा याचना गरेको छ ।