शनिवार, भाद्र २० गते २०८३

मानसराजसँग समीक्षा अधिकारीको ‘यसपालीको तीज बरै मेलबर्नमा’

शनिवार , भाद्र २०, २०८३

काठमाडौं। गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानसराजको संगीत तथा डा. कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेकोछ ।

नेपअसले तयार गरेको तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ को भिडियोलाई मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको छ । अडियो झैँ भिडियो उत्कृष्ट बनेको छ । डायस्पोरामा निर्माण हुने भिडियोहरू प्राय: रहरमा तयार गरिन्छ तर नेपअसले यसलाई व्यवसायिक रुपमै अब्बल बनाएको छ ।

सार्वजनिक गीतको भिडियोमा पुजा क्षेत्री र सायद श्रेष्ठसहित गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्री फिचर्ड छन् ।

नृत्य निर्देशन र निर्देशन सायद श्रेष्ठको रहेको छ । उनले मेलबर्न नेपाली कला, संस्कृति र भेशभूषाको प्रवद्र्धन गर्न यस्ता गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने,‘हामीले गीत छायांकन गर्दा यसले हाम्रै नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग नजिक बनाउँछ भने अस्ट्रेलियनले पनि नेपाली परम्परालाई बुझ्ने मौका पाउँछन । हामीले यहाँ हुने सांस्कृतिक कार्यक्रममा नेपाली भेषभूषालाई प्रवद्र्धन गर्ने गरेका छौँ ।’

निर्देशक श्रेष्ठ मेलबर्नमा रहेर नेपाल कलासँग जोडिएका विभिन्न विधामा सक्रिय छन् । यस्तै, तीज गीतमा अभिनय गर्न पाउँदा मोडल पूजा क्षेत्रीले पनि खुसी व्यक्त गरिन् । उनले नेपालमै रहेर तीज मनाएको अनुभव छायांकनका क्रममा भएको बताइन ।

उक्त भिडियोमा जीवन रसाइली को छायांकन, दिन्सन शाहको सम्पादन र रङ्ग संयोजन रहेको छ । आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन भएको भिडियोलाई नेपअसले तयार गरेको हो । प्रदीप दाहाल निर्माता, अन्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडियो निर्माणमा आरएफएम फ्यास्लिटी म्यानेजमेन्ट, लेनवे डम्पिङस एण्ड मोमोले सहयोग गरेका छन् ।