शनिवार, भाद्र २० गते २०८३

फिल्म प्रचारलाई नेपाल यातायात चढ्यो ‘झिंगे दाउ २’, सिटबाटै टिकट काट्न सकिने

बिहिवार , भाद्र १८, २०८३

काठमाडौं। आगामी असोज २ बाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ फिल्मको प्रवर्धनात्मक काममा अघि सरेको छ । प्रचारप्रसारलाई अघि बढाउँदै प्रत्यक्ष रुपमा दर्शकमाझ पुग्नका लागि नयाँ प्रयोग अपनाएको छ । राजधानीको सर्वाधिक व्यस्त मानिने यातायात 'नेपाल यातायात' सँग निर्माण टिमले प्रचार सम्झौता गरेको छ ।

jadau banner.jpg

विभिन्न रूट भएर चल्ने नेपाल यातायातका ८० वटा गाडीमा फिल्मको परिचय बोल्ने सिट कभर राखिएको छ, जहाँबाट नेपाल यातायातमा यात्रा गर्ने अधिकांश यात्रुले यो फिल्मको बारेमा प्रत्यक्ष जानकारी पाउनेछन् ।

यस्तै, नेपाल यातायातको सिट कभरमा ‘झिंगे दाउ २’को २ वटा क्यूआर समेत राखिएको निर्माण टिमले बताएको छ, जसमध्ये, एउटा क्यूआरबाट फिल्मको टिजर हेर्न मिल्नेछ भने अर्को क्यूआरबाट क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

jhingedau 2 banner.jpg

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ हिट फिल्म 'झिंगेदाउ'को सिक्वेल हो । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

askhera banner.jpeg

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।