शनिवार, भाद्र २० गते २०८३

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश, लत्ताकपडा सहितको सहयोग

दुर्गेशले काठमाडौंबाट घरबास विहीन बनेकाहरूलाई लत्ता कपडासहितको सामग्री लिएर उक्त स्थान पुगेका थिए ।

आइतवार , भाद्र १४, २०८३

काठमाडौं। भोटेकोशी बाढीका कारण विभिन्न जिल्लामा जनजीवन प्रभावित हुँदा कलाकारहरू सहयोगी हात लिएर मैदानमा उत्रिरहेका छन् । राहत सामग्री लिएर अग्रपङ्ग्तिमा प्रभावित जिल्ला नुवाकोट पुगेका गायक/प्रफर्मर दुर्गेश थापा र उनको टिमले नुवाकोटको विदुर नगरपालिकामै रहेर सामाजिक कार्यमा सक्रियता देखाएको छ ।

दुर्गेशले पछिल्लो दुई दिनदेखि विदुर नगरपालिका-८, कोलनी क्षेत्रमा रहेर बाढी पीडितहरूका लागि स्थानीय बासिन्दाहरूसँग मिलेर खाना पकाउने र प्रभावित परिवारहरूलाई खुवाउने कार्य गरिरहेका छन् । उनले सामाजिक सञ्जाल खाना खुवाउँदै गरेको र बनाउँदै गरेको केही तस्बिर सेयर गर्दै विपत्तिको यस कठिन घडीमा सानो सहयोग पनि अर्थपूर्ण हुने बताएका छन् । 

दुर्गेशले काठमाडौंबाट घरबास विहीन बनेकाहरूलाई लत्ता कपडासहितको सामग्री लिएर उक्त स्थान पुगेका थिए । आइतबार दुर्गेशले सामाजिक सञ्जालमा लेखेका छन्– ‘यतिबेला कसैलाई ठुलो सहयोग गर्न नसके पनि, भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठुलो सेवा हो भन्ने लाग्छ । दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता हो ।’ दुर्गेश यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका कलाकार हुन् ।