काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण हजारौँ मानिसको जनधनको क्षति हुनुका साथै धेरैजसोको गाँस, बास र कपास नै खोसिएको छ। विपद्को घडीमा फिल्मकर्मीहरू पनि आ-आफ्नो ठाउँबाट सक्दो सहयोगमा जुटिरहेका छन् । व्यक्तिगत रूपमा तथा फिल्मको तर्फबाट, संस्थागत तथा व्यक्तिगत सहयोगमा पनि विभिन्न कलाकर्मीहरू निरन्तर छन् ।

यो बीचमा आगामी असोज २ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य 'मुन्नी' ले बाढीपीडितको सहयोगका लागि व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री त्यसतर्फ पठाएकी हुन्।

पीडितहरूका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री जुटाएर पठाइएको अभिनेत्री आचार्यले जानकारी दिइन्। उनले भनिन्, “अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ। त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु।”
उनी अभिनित फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म हलमा लाग्न दुई साता पनि बाँकी नरहेको अवस्थामा प्रचारमा जुट्नुपर्ने भए पनि उनले यतिबेला मानवीय सहायतालाई प्राथमिकता दिएको बताइन् ।

भारी बोकेर जीविकोपार्जन गर्ने नागरिकको कथामा आधारित यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको छ। फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारको समेत अभिनय रहेको छ।
डम्बर राईको कथामा बनेको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेको फिल्मका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन् भने कार्यकारी निर्माता अनन्त राई छन्।