शनिवार, भाद्र २० गते २०८३

विजय र पूजाको ‘रत्यौली’ सुरू

नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो फिल्म फागुनको २१ गतेबाट रिलिज गरिने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

मंगलवार , भाद्र १६, २०८३

काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘रत्यौली’को मंगलबारबाट छायांकन सुरू भएको छ । पशुपति क्षेत्रमा पूजाअर्चना गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

२ दिनसम्म काठमाडौंमा फिल्म खिचेर निर्माण टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । जिरीमा एक महिना फिल्मको छायांकन हुने निर्माणपक्षले जानकारी दिएको छ । 

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाइँ र उत्तम हुमागाइँको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक सुनिल निउरे छन् ।

 दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो फिल्म फागुनको २१ गतेबाट रिलिज गरिने घोषणा निर्माणपक्षले गरिसकेको छ ।