काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले बक्स अफिसमा पुनरागमन गरेको निर्माण टिमले बताएको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन हलमा न्यून दर्शक उपस्थिति रहेको स्विकार गरेको निर्माण टिमले तेस्रो दिनदेखि ‘माउथ पब्लिसिटी’का कारण व्यापारमा ठूलो फड्को मारेको दाबी गरेको छ ।

'सुरुवातमा नगण्य शोज पाएको यस फिल्मले दर्शकको बढ्दो चापसँगै हाल देशभरका हलहरूमा १ सय १० भन्दा बढी शोज प्राप्त गर्न सफल भएको छ, मिडिया संयोजकबाट प्राप्त समाचारमा ठोकुवाका साथ भनिएको छ, 'भारतीय फिल्म ‘टक्सिक’को कमजोर समीक्षा र खस्किँदो व्यापारको फाइदा उठाउँदै ‘पार्वती’तर्फ दर्शक आकर्षित भएका हुन्।'

अटिजम प्रभावित दिदीप्रति भाइले देखाउने प्रेम र पारिवारिक सङ्घर्षको कथावस्तु फिल्मको केन्द्रीय द्वन्द्व हो । सुरुवाती चरणमा शो नै घट्ने स्थिति बनेपनि दर्शकको सकारात्मक प्रतिक्रियाले अहिले व्यापारमा सोचेभन्दा राम्रो उत्साह थपेको निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले बताएकी छन्। त्यसो त ढुङ्गानाले यसअघि नै हल रिपोर्टिङमा पुगेका मिडियाकर्मीमाझ विदेशी फिल्ममा दर्शक आएको र आफ्नो फिल्म हेर्न नआएको बताएकी थिइन् ।
हालै फिल्मका कलाकार सहितको निर्माण टिम पश्चिम नेपालको नेपालगञ्ज, दाङ, कैलाली, कञ्चनपुर लगायतका हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका छन्। उनीहरुले स्थानीय दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन्।
हरिहर अधिकारीको निर्माण रहेको यस फिल्ममा ढुङ्गानाका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ। फिल्मको हालसम्मको विजनेससहितको आधिकारिक बक्स अफिस रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।