काठमाडौं । आगामी असोज १६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म 'चमेलीको पोइ'मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहिबार युट्यूवमार्फत 'माया मान्छौ र' बोलको गीत रिलिज गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल र सुरक्षा पन्त फिचर्ड छन् । एकनारायण भण्डारीले लेखेको गीतका शब्द ठेट नेपालीपना झल्काउने छन् । उक्त गीतमा आशिष अविरलको संगीत रहँदा स्वरमा आशिषलाई मेलिना राईले साथ दिएकी छन् ।
एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको यो फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीले पर्दामा पुनरागमन गर्दैछन् । भुषाल, पन्त र त्रिपाठीका साथमा विल्सन बिक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारले यो फिल्ममा अभिनय गरेका छन् ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ । फिल्मको छायांकार शेरबहादुर तामाङ हुन् ।