काठमाडौं। चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको यो चलचित्र अब असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले यसअघि यो चलचित्रलाई आगामी मंसिर २४ मा रिलिज गर्ने बताएको थियो ।

कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । 'हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा : एक योद्धा’लाई असोज ९ गते प्रदर्शनमा आउने निष्कर्षमा पुगेका छौं,' निर्माता वसन्त लम्सालले भने, 'यो मितिमा हामीलाई दर्शकसँगै सबै पक्षको साथ मिल्ने विश्वास छ।'

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य अभिनयमा छन् ।

नेपाली संगीत क्षेत्रमा दर्जनौं कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । ठुलोपर्दामा ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् ।