काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कुशेऔंशी बुवाको मुख हेर्ने दिन शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । अन्तिम समयमा 'अक्षरा'ले हात उठाएपछि दुई फिल्म 'पेन्सन पट्टा' र 'बेहुली' मात्रै एक आपसमा आमने सामने भएका हुन् ।

'पेन्सन पट्टा'
भेट्रान कलाकार माओत्से गुरुङको निर्देशन रहेको यो फिल्मले लाहुरे परिवारको कथा बोल्छ । भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव फिल्मको महत्वपूर्ण पक्ष भए पनि कथा पेन्सनमा मात्र सीमित नरहेको निर्देशक माओत्से गुरुङले बताएका छन् । प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तहलाई समेत फिल्ममा प्रस्तुत गरिएको उनले बताएका छन् ।

यो फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् ।
'बेहुली'
संगीतकार अर्जुन पोखरेलले निर्माणमा डेब्यू गरेको यो फिल्म मुख्य कलाकार टिकटकबाट उदाएका पारस बम ठकुरी 'कूलब्वाई' र अभिनेत्री दिव्या रायमाझीको केन्द्रमा घुमेको छ । सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा कूलब्वाई र दिव्यासँगै सुशान्त केसी, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।

दुई फिल्म एक सयबढि पर्दामा एकसाथ रिलिजमा आएका छन् । 'पेन्सन पट्टा'ले तुलनात्मक रूपमा बढि शोज पाउँदा विजनेस भने फिल्मको विषयवस्तु र दर्शकको छनोटमा निर्भर हुनेछ । यी दुईसँगै यसअघि नै हलमा प्रदर्शनरत फिल्म 'गौंथली', 'पार्वती' र 'एलिफेन्ट अन द फग' पनि हलमा उपलब्ध छन् ।